Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

तल्लो इर्खुवाको भौतिक प्रगति ३० प्रतिशत, १०१२ मिटर सुरुङ खनियाे ।

काठमाडौं । १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण सम्पन्न भएको छ । भोजपुरमा जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजनाको यति भौतिक प्रगति भएको हो । आयोजनाको मुख्य सुरुङमा सबैभन्दा बढी प्रगति भएको प्रवद्र्धक लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार आयोजनाको १ हजार १२ मिटर मुख्य सुरुङ खनेर सकिएको छ ।

‘आयोजनाको कामको थालनी नै हामीले मुख्य सुरुङबाट गरेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यही कारण पनि सुरुङको प्रगति बढी छ ।’ उनले भर्खरै आयोजनाको बाँध क्षेत्रको संरचनाको काम पनि सुरु गरिएको बताए । बर्खा सकिएपछि बाँध क्षेत्रमा संरचना बनाउन खोलो फर्काउने काम सकिएको पाण्डेले जानकारी दिए । विद्युतगृहको सिभिलतर्फको काम भने अहिलेसम्म सुरु भएको छैन । अब चाँडै विद्युतगृहको काम पनि सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ । स्वपुँजी लगानी जुटाउन २१ कराेड मूल्यकाे २१ लाख कित्ता साधारण सेयर गर्ने कम्पनीकाे तयारी छ । याे सेयर प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि २ चरणमा निष्कासन गरी बाँडफाँड गरिनेछ । साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएकाे छ ।

आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति भर्खरै पाएकाे छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।